एसओएनपी युकेले ग-यो राजदूत  चन्द्र कुमार घिमिरेसंग छलफल


लन्डन – सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स युकेले बेलायतका लागि नेपाली राजदूत  चन्द्र कुमार घिमिरेसंग समसामयिक विषयमा छलफल गरेको छ।  संस्थाका अध्यक्ष  गजेन कटुवालले पुष्प गुच्छा सहित राजदूत घिमिरेलाई स्वागत गर्दै  सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स (एसओएनपी) युकेले केहि भिन्न  रुपमा काम गरिरहेको बताए।  उनले हिजोको अफ्ट्यारो परिस्थितिमा र आगामी दिनमा पनि दुतावास तथा अन्य निकायसंग डायस्पोराका सवालहरुमा हातेमालो गर्ने अपेक्षा रहेको प्रष्ट्याए।  नेपाली दूतावासमा आयोजित भेटघाटमा संस्थाका उपाध्यक्ष डा रामजी पौड्याल, महासचिव डा बिदुर घिमिरे, कोषाध्यक्ष  रंजन बिस्ट,  डा शिक्षा बराल तथा जमुना नेउपानेले संस्थाका गतिविधिहरूबारे जानकारी गराएका थिए।  


उक्त अवसरमा बोल्दै   नवनियुक्त  राजदुत घिमिरेले सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स युकेजस्तो  बौद्धिक व्यक्तित्वहरु  सहभागी  संस्थासंग सहकार्य गर्न  दुतावास इच्छुक रहेको बताए।  उनले आफुले आफ्नो कार्यकाल आर्थिक कूटनीतिमा बढी केन्द्रित गर्न इच्छुक रहेको बताउँदै सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स युकेलाई नागरिकताको  सवालसंगै  पर्यटन विकास, बेलायतमा नेपाली उत्पादनको प्रवर्द्धन, सूचना प्रविधि, सीप आउट सोर्सिंग लगायत अन्य सामाजिक सवालहरु  समेतमा  बहस तथा छलफल चलाउन र तिनमा हातेमालो गर्न दूतावास इच्छुक रहेको बताए।  उनले नेपालको नीति निर्माणमा पनि थप टेवा पुग्ने गरी अनुसन्धानका काम अगाडी बढाउन सुझाव पनि दिए।

कार्यक्रमको संचालन संस्थाका महासचिव डा बिदुर घिमिरेले गरेका थिए भने अध्यक्ष  कटुवालले सबैलाई  धन्यबाद दिए।